शनिबार दिउँसो पनि देशभर यस्तै अवस्था कायम रहने अनुमान गरिएको छ। विशेष गरी पहाडी भेगका विभिन्न स्थानहरूमा र तराईका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा भारी वर्षा हुन सक्ने भन्दै सतर्क रहन विभागले अनुरोध गरेको छ।
त्यस्तै उच्च पहाडी तथा हिमाली भेगमा सामान्य वर्षा वा हिमपात पनि हुन सक्ने विभागको पूर्वानुमान छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थुप्रै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। केही स्थानहरूमा भारीदेखि अत्यधिक वर्षा पर्न सक्ने सम्भावना रहँदा नदी, खोलानालामा पानीको सतह उच्च हुने, भूक्षय, पहिरो र डुबानको जोखिम पनि बढ्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
विभागले बाढी, पहिरो, भूक्षयलगायत प्राकृतिक प्रकोपका सम्भावित जोखिमलाई ध्यानमा राख्दै यातायात, हवाई सेवा, कृषि र दैनिक जनजीवनमा असर पर्न सक्ने भन्दै सावधानी अपनाउन सर्वसाधारणलाई सचेत गराएको छ।