स्याङ्जा ।
ख्यातिप्राप्त भागवत मञ्जरी राधिका दासीले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, जलबराह धार्मिक वन केटीचौर (सिमलचौर) मा अवस्थित नेपालकै पहिलो नवग्रह मन्दिरको दर्शन गरेकी छिन्।
वैदिक शास्त्र र ज्योतिषशास्त्रमा नौ ग्रहलाई उच्च महत्व दिइने सन्दर्भमा स्थापना गरिएको सो मन्दिरमा उनले पूजाअर्चना गरी नेपालको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरिन्।
उनले भनिन् , "नवग्रह शान्ति र जीवन उन्नतिको प्रमुख स्रोत हुन्। यहाँको वातावरण शान्त, दिव्य र अत्यन्तै उर्जाशील छ। यस्तो स्थलले आध्यात्मिक यात्रुलाई न्यानोपन र प्रेरणा प्रदान गर्दछ।"
पालिका प्रमुख प्रकाश तिवारी सँगै उपप्रमुख , अन्य जनप्रतिनिधि , धार्मिक अगुवा तथा भक्तजनको उपस्थितिमा सम्पन्न सो दर्शन कार्यक्रमले अर्जुनचौपारीलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
नेपालमै पहिलोपटक नवग्रह (सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु) समर्पित मन्दिरको स्थापनाले यहाँको धार्मिक महत्व थपिएको छ। यस मन्दिरमा नवग्रहदोष शान्ति, ग्रहशान्ति पूजापाठ, र यज्ञजाप समेत नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
स्थानीयवासीहरूले राधिका दासीको आगमनले मन्दिरको प्रचार–प्रसारमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै यसले स्याङ्जा जिल्लालाई धार्मिक पर्यटन नक्सामा थप उजागर गर्ने अपेक्षा गरिएको छ।