यससँगै मधेश प्रदेशमा निलम्बनमा पर्ने सांसदको संख्या तीन पुगेको छ। कुशवाहासँगै यसअघि धनुषाका दिपेन्द्रकुमार ठाकुर र महोत्तरीका अभिराम शर्मा निलम्बनमा परिसकेका छन्।
प्रदेश सभामा सभामुख रामचन्द्र मण्डलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निलम्बनसम्बन्धी पत्र पढेर सुनाएपछि कुशवाहा निलम्बनमा परेको औपचारिक जानकारी गराइएको हो।
सांसद कुशवाहालाई बिहीबार काठमाडौँको अनामनगरबाट अख्तियारको टोलीले पक्राउ गरेको थियो। उपभोक्ता समितिका नाममा संकलित रकम निजी सचिव विनोदलाल कायस्थको खातामा जम्मा गरी पछि घुसको रूपमा आफ्नो खातामा सारिएको प्रमाण फेला परेपछि अख्तियारले उनीमाथि कारबाही अघि बढाएको हो। कुशवाहाका सचिव कायस्थ केही दिनअघि महोत्तरीबाट पक्राउ परेका थिए।
यसअघि सत्तारुढ नेकपा (एमाले)का मधेश प्रदेशसभा सांसद तथा उपनेता दिपेन्द्रकुमार ठाकुरमाथि भवन निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। जेठ २७ गते विशेष अदालतमा मुद्दा दायर भएसँगै ठाकुरको सांसद पद निलम्बनमा परेको हो।
त्यस्तै, लोसपाका मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मालाई जिल्ला अदालत महोत्तरीले २०८० मङ्सिर २८ गते सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। २०८१ वैशाख १८ गतेदेखि शर्माको सांसद पद निलम्बनमा परेको छ।
मधेश प्रदेशसभामा हाल १०७ जना सांसदमध्ये तीन जना निलम्बनमा परेपछि क्रियाशील सांसदको संख्या १०४ रहेको छ।