रुकुमपश्चिम, असार १८ — रुकुमपश्चिमको चौरजहारी नगरपालिका–३ टाटागाउँमा एक पुरुषले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले शनिबार राति ३० वर्षीया श्रीमती देविका बुढाथोकीको घाँटीमा खुकुरी प्रहार गरेर ज्यान लिएका हुन्।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार, घटना जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दिपेन्द्र रावतको टोली घटनास्थल पुगेको थियो। अभियुक्तलाई खुकुरीसहित नियन्त्रणमा लिइएको छ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टको नेतृत्वमा अतिरिक्त टोली खटिएको छ।
बारम्बारको झगडा हत्या सम्म
स्थानीयबासीका अनुसार, चन्द्रबहादुर र देविकाबीच घरेलु विवाद समय–समयमा भइरहने गरेको थियो। शनिबार राति पनि घरभित्र झगडा चलिरहेका बेला एक्कासी चन्द्रबहादुरले खुकुरी निकालेर घाँटीमा प्रहार गरेका थिए।
हत्या पश्चात देविकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा पठाइएको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
घरेलु हिंसाबाट हत्या
यो घटना पछिल्लो समय बढ्दै गएको घरेलु हिंसाको दुखद उदाहरण बनेको छ। अधिकारकर्मीहरूले यस्ता घटनालाई समयमै सम्बोधन गरी पीडितको संरक्षण र पूर्वतयारीको प्रणाली सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्।