पाँचथर, असार १८ — पाँचथर जिल्लाको सिदिङ्वा गाउँपालिका–३ मा गए राति आएको पहिरोले एक घर पुरिँदा चार जना घाइते भएका छन्। पहिरोले स्थानीय हस्तबहादुर कटुवालको घर पूर्ण रूपमा पुरिएको हो।
घटनामा कटुवालसहित उनकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते भएका छन्। स्थानीय मौसम सेलिङका अनुसार, घरमाथिबाट बग्ने सिँचाइ कुलो थुनिँदा अचानक आएको पहिरोले घर पुरिएको थियो।
घटना भएपछि छिमेकीहरूद्वारा तत्काल उद्धार गरिएका घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। उनीहरूलाई थप उपचारका लागि पाँचथर ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
पछिल्ला दिनमा निरन्तर परेको वर्षाका कारण पहाडी जिल्लाहरूमा पहिरोको जोखिम बढ्दै गएको छ। सुरक्षा निकायहरूले सतर्कता अपनाउन र जोखिमयुक्त क्षेत्रमा सावधानीपूर्वक बस्न स्थानीयवासीलाई आग्रह गरेका छन्।