रुपन्देही, साउन १०। रुपन्देहीको भैरहवास्थित डण्डा खोलामा पौडी खेल्ने क्रममा दुई किशोरको डुबेर मृत्यु भएको छ।
शनिबार साँझ पौडी खेल्न गएका सिद्धार्थनगर–९ भट्टटोलका १४ वर्षीय प्रज्वल अर्याल र नवलपरासी बिनय त्रीबेणी गाउँपालिका–६ घर भई हाल सिद्धार्थनगर–७ बस्ने १५ वर्षीय दिनेश न्यौपानेको खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।
दुबै मृतक रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित शान्ति नमुना माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए। उनीहरू पाँच जनाको समूहमा पौडी खेल्न गएका थिए।
प्रहरीका अनुसार हराएको सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्दा दुबै जनाको शव डण्डा खोलाबाट फेला परेको हो। शवलाई पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गर्न पौडी खेल्न गएका अन्य तीन किशोरसँग सोधपुछ गरिरहेको छ। प्रारम्भिक जानकारीअनुसार खोलाको दलदलयुक्त गहिरो भागमा डुबेका दुबैलाई साथीहरूले उद्धार गर्न खोजे पनि नसकेपछि फर्किएको बुझिएको छ।