झापा, साउन १०। झापाको भद्रपुर नगरपालिका–५ मा लागुऔषध कारोबारमा संलग्न भारतीय नागरिकलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका व्यक्ति भारतीय नागरिक मोहम्मद इस्लाम हुन्। लागुऔषध ब्यूरो काठमाडौँ र झापा प्रहरीले संयुक्त रुपमा गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गर्न खोज्दा भाग्ने प्रयास गरेपछि प्रहरीको गोली लागेर घाइते भएका हुन्।
इस्लामलाई खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिइएको र अहिले प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उक्त घटनामा प्रहरीले दुई राउन्ड गोली चलाएको थियो।
जिल्ला प्रहरी प्रमुख एसपी राजन लिम्बुका अनुसार लागुऔषध कारोबारसँग सम्बन्धित विस्तृत अनुसन्धान भइरहेको छ।