Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तल्लो सोलु जलविद्युत् आयोजनाबाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडियो


साउन १० गते। हिमाली जिल्ला सोलुखुम्बुमा निर्माण भएको ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा सफलतापूर्वक जोडिएको छ। सोलु करिडोरको १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा प्रवाह भइरहेको हो।

सोलु हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित आयोजनाले गत साउन ४ गतेदेखि पहिलो युनिटमार्फत विद्युत् उत्पादन सुरु गरेको थियो। दुईवटा ४१ मेगावाट क्षमताका पेल्टन टरबाइन जडान गरिएको आयोजनामा पाँच किलोमिटर लामो सुरुङमार्ग, बाँध र भूमिगत पावरहाउस निर्माण गरिएको छ।

एफएमओसहितका युरोपियन बैंकहरूको करिब १६ अर्ब रुपैयाँ लगानीमा बनेको आयोजनालाई निर्माण अवधिमा पहिरो, भौगोलिक कठिनाइ र प्राविधिक अवरोधका कारण चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपरेको थियो। यद्यपि, लक्ष्यभन्दा दुई महिना अघि नै निर्माण सम्पन्न गरी परीक्षण उत्पादन सुरु गरिएको आयोजनाका सहायक प्रबन्धक कृष्णबहादुर चौधरीले जानकारी दिनुभयो।

यस आयोजनाबाट हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा अधिकतम ८२ मेगावाट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ। परीक्षणपछि नेपाल विद्युत् प्राधिकरणको स्वीकृतिसहित व्यावसायिक उत्पादन सुरु गरिनेछ।

तल्लो सोलु आयोजना सरकारको ‘सुपर सिक्स’ परियोजनाको हिस्सा हो र निजी क्षेत्रको दोस्रो ठूलो जलविद्युत् आयोजना मानिन्छ। यसअघि ८६ मेगावाट क्षमताको सोलु दूधकोशी आयोजना सञ्चालनमा आइसकेको छ।

स्थानीय स्तरमा रोजगारी र पूर्वाधार विकासमा ठूलो योगदान पुर्‍याएको आयोजनाले भविष्यमा पर्यटन, उद्योग र आर्थिक गतिशीलता बढाउने अपेक्षा गरिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom