साउन २, हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने जनाइएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना पनि रहेको छ।
रातको मौसम पनि अस्थिर
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशका केही स्थान, मधेश प्रदेशसहित अन्य पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।
डुबान, पहिरो, बाढीको जोखिम, सतर्क रहन आग्रह
संभावित भारी वर्षाका कारण बाढी, पहिरो, गेग्य्रान बहाव तथा डुबानको जोखिम रहेको भन्दै महाशाखाले जनजीवन प्रभावित हुन सक्ने चेतावनी दिएको छ। ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाले विशेषगरी सहरी तथा तराई क्षेत्रका नागरिकलाई डुबानको जोखिमबाट सचेत रहन र आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ। मौसमको यो प्रभावले कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकाय तथा सर्वसाधारणलाई सचेत रहन सुझाव दिइएको छ।