Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पुनः विवाह गरेको निहुँमा पूर्व श्रीमानले गरे महिलाको हत्या


असार ३१ गते – प्युठानको सरुमारानी गाउँपालिकामा एक महिलाको आफ्नै पूर्व श्रीमानले चक्कु प्रहार गरी हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मणी बरालको पूर्व श्रीमान लिलबहादुर बरालले मङ्गलबार बिहान हत्या गरेका हुन्। ऐरावती गाउँपालिका–२ कात्तिकेका ३० वर्षीय लिलबहादुरलाई प्रहरीले घटनास्थलबाट पक्राउ गरेको हो।

रुक्मणी केही दिनका लागि आफ्नी जेठानी डिला परियारको घरमा बस्न गएकी थिइन्। डिलाका अनुसार लिलबहादुरले रुक्मणीलाई फोनमार्फत घरभित्र बोलाएर चक्कु प्रहार गरेका थिए।

"मैले कराएँ, नहान भन्न पुगेँ, तर उसले सुनेन," डिलाले भनिन्, "उसले आँखै अगाडि छुरा हानेर मारे।"

इजरायलमा रोजगारमा रहेका लिलबहादुर असार २४ गते मात्रै घर फर्केका थिए। रुक्मणीले गत वैशाखमा दिपक परियारसँग पुनः विवाह गरेकी थिइन्। दीपक हाल कामको सिलसिलामा सङ्खुवासभा गएका छन्।

रुक्मणी र लिलबहादुरका दुई नाबालक सन्तान छन्—एक छोरा र एक छोरी। आमाको हत्या र बुवाको गिरफ्तारीसँगै उनीहरू असहाय अवस्थामा परेका छन्।

घटनाको खबर पाएपछि प्रहरी सहायक निरीक्षक कुलबहादुर खत्रीको टोली घटनास्थलमा पुगेर लिलबहादुरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेश बस्यालले जानकारी दिनुभयो।

“घटनास्थल सुरक्षित गरिएको छ, अभियुक्त प्रहरीको नियन्त्रणमा छन्,” डीएसपी बस्यालले बताउनुभयो, “प्रारम्भिक अनुसन्धानले पूर्व वैवाहिक रिसइवीको कारणले हत्या भएको देखिन्छ।” हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom