पक्राउ परेका चिकित्सकहरूमा डा. असिम अधिकारी, डा. स्वस्ति शर्मा, डा. मलिना चौधरी रहेका छन् भने एजेन्टका रूपमा कार्यरत जस्तिना प्रधान र अलिशा ओलीसमेत पक्राउ परेका हुन्। काठमाडौँ जिल्ला अदालतले थुनाबाहिर राखी अनुसन्धान गर्न आदेश दिएपछि उनीहरूलाई हाल जमानीमा छोडिएको छ।
जांचमा खुलासा भए अनुसार एजेन्टहरूले किशोरीहरूलाई डिम्ब संकलनका लागि १५ हजार रुपैयाँ दिने गर्दथे, तर ती डिम्ब अभिभावकविहीन वा सन्तान चाहने दम्पतीहरूलाई २० लाख रुपैयाँसम्ममा बेचिन्थ्यो। एजेन्टहरूले स्वयं ४० हजार रुपैयाँ कमिसन लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
१८ वर्षमुनिका किशोरीहरू लक्षित
अत्यन्त गम्भीर तथ्य के हो भने गिरोहले १८ वर्षमुनिका किशोरीहरूलाई लक्षित गरेको थियो। एजेन्ट जस्तिना प्रधानले रजस्वला भएको तेस्रो दिनमा किशोरीहरूलाई सम्पर्कमा ल्याउने र त्यसपछि १० दिनसम्म राखेर रजस्वलाको १३ औं दिनमा डिम्ब निकाल्ने प्रथा रहेको खुलेको छ।
डिम्ब संकलन अघि किशोरीहरूको नाइटो वरिपरी १० वटा सिरिन्ज लगाइने गर्थ्यो, जुन प्रक्रिया किशोरीहरूको स्वास्थ्यका लागि अत्यन्त जोखिमपूर्ण मानिन्छ।
बबरमहलस्थित फर्टिलिटी एण्ड डायग्नोस्टिक सेन्टर र महाराजगञ्जस्थित एन्जेल क्लिनिकमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। यी दुवै क्लिनिकबाट अवैध रूपमा डिम्ब संकलन गरिंदै आएको प्रारम्भिक सूचनामा उल्लेख छ।
प्रहरीका अनुसार यो गिरोहले लामो समयदेखि व्यवस्थित तरिकाले किशोरीहरूलाई लोभ देखाएर डिम्ब बेच्ने कार्य गरिरहेको थियो।
डिम्ब संकलनसम्बन्धी कानुनबिना किशोरीहरूलाई यस्ता प्रक्रियामा संलग्न गराउनु गम्भीर मानव अधिकार उल्लंघन मात्र होइन, उनीहरूको स्वास्थ्य र मानसिक स्थितिमा दीर्घकालीन असर पुर्याउने खालको कार्य हो।
यस घटनाले नेपालको फर्टिलिटी क्षेत्र, एथिक्स र कानुनी व्यवस्था माथि गम्भीर प्रश्न उठाएको छ।
प्रहरीले हाल घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ। यस विषयमा थप संलग्न व्यक्तिहरू, आर्थिक लेनदेन र मेडिकल प्रक्रियासम्बन्धी विवरण संकलन भइरहेको जनाइएको छ।