पोखरा, साउन ५ – जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी इकाइहरूले आर्थिक वर्ष २०८१/८२ भित्र ८०४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा बुझाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मिति २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्मको अवधिमा विभिन्न मुद्दामा अदालतबाट फैसला भई कैद वा जरिवाना तिर्न बाँकी रहेका फरार प्रतिवादीहरूमध्ये पुरुष ६०४ र महिला २०० जनालाई पक्राउ गरिएको हो।
पक्राउ परेका व्यक्तिहरूमाथि अदालतबाट तोकिएको ६१ वर्ष २ महिना १५ दिन कैद सजाय र रु. १०,१२,०१,३७१ (दश करोड बाह्र लाख एक हजार तीन सय एकहत्तर रुपैयाँ) जरिवाना असुल गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले फरार प्रतिवादीहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाउँदै फैसला कार्यान्वयनलाई प्राथमिकता दिने नीति अनुसार काम भइरहेको जानकारी दिएको छ।





