असार २१, काठमाडौं — मलेसियाको युकेएम ओभलमा सम्पन्न एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले सिङ्गापुरलाई दुई विकेटले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको छ।
सिङ्गापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्न सफल भयो। नेपालका लागि जोय थापा (२४ रन अविजित) र अभय यादव (१० रन अविजित) ले अन्त्यसम्म टिक्दै जित सुनिश्चित गरे।
त्यसअघि शिवान्स बजगाईंले २०, शुभम खनालले १८ र प्रसिद्ध जैशीले १७ रनको योगदान दिए।
नेपालले सुरुवाती अवस्थामा १३ रनमै पहिलो विकेट गुमायो। ४० रन बनाउँदा लगातार दुई विकेट गुमाउँदा दबाबमा परेको नेपालले ५८ रनमा थप दुई विकेट गुमायो।
तर छैटौं विकेटका लागि जोय थापा र शुभम खनालबीच ३३ रनको महत्वपूर्ण साझेदारी हुन पुग्यो। त्यसपछि पनि नेपालले छोटो अन्तरालमा विकेट गुमाउँदै गए पनि अन्ततः लक्ष्य पूरा गर्यो।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ४०.५ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको थियो।
सिङ्गापुरका लागि रोहन अस्टिनले २३ रन, रिहान नाइकले १५, दान्स गुप्ता १२ र आकाश तेजाले १० रन बनाए। अन्य ब्याटर भने दोहोरो अंकमा पुग्न सकेनन्।
नेपालका बलरहरू प्रभावशाली रहे—
-
अभय यादव र सुशील रावलले समान ३–३ विकेट लिए
-
शुभम खनालले २ विकेट,
-
कप्तान बिपिनप्रसाद शर्माले १ विकेट लिए।
सिङ्गापुरका बलरमध्ये कपिस भेन्कटरमनले चार विकेट लिए भने युवान पाण्डेले दुई, भेदन गुप्ता र आकाश तेजाले समान एक–एक विकेट लिए।