काठमाडौं, असार २० गते। राजधानीको गौशाला क्षेत्रमा वैदेशिक रोजगारीबाट फर्किएका एक व्यक्तिलाई लुटपाट गर्ने घटनामा संलग्न पाँच जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। असार १३ गते साँझ ६ बजेतिर काठमाडौं महानगरपालिका–९, गौशालास्थित रुन्चेडाँडाको सार्वजनिक सडकमा केही अपरिचित व्यक्तिहरूले पीडितलाई डर, त्रास र धम्की दिँदै साथमा रहेको रु. ४५,००० लुटपाट गरेका थिए।
घटनापछि तुरुन्तै खटिएको प्रहरी वृत्त गौशालाको टोलीले खोजतलास गर्दै साँझ ६:२८ बजे काठमाडौं महानगरपालिका–८, गौशालाबाट लुटिएको नगदसहित पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा काठमाडौं दक्षिणकाली नगरपालिका–४ बस्ने ३२ वर्षीय राम बहादुर तामाङ, सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ का ४० वर्षीय बिपिन लामा, महोत्तरी बर्दिबास नगरपालिका–६ का ३८ वर्षीय बिनोद मगर, रामेछाप सुनापाति गाउँपालिका–३ का ३० वर्षीय राजु तामाङ, र रामेछाप मन्थली नगरपालिका–१६ का ३० वर्षीय राजकुमार माझी रहेका छन्।
पक्राउ परेकाहरूलाई “डाँका गर्न नहुने” सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





