वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा लमजुङ दुधपोखरी-४ घर भई हाल टोखा नगरपालिका-९ बस्ने ३५ वर्षीय साजन गुरुङ, रूपन्देही तिलोत्तमा-१ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने ३६ वर्षीय दिपक थापा, दाङ घोराही-१५ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-५ बस्ने ४७ वर्षीय टेक बहादुर केसी, स्याङ्जा वालिङ-७ घर भई हाल ललितपुर महानगरपालिका-२३ बस्ने ५० वर्षीय भरत प्रसाद पाण्डे र पर्वत विहादी-४ घर भई हाल भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने ३८ वर्षीय प्रेम प्रसाद भुषाल रहेका छन्।
उनीहरूले विभिन्न व्यक्तिहरूलाई जर्मनी, जर्जिया, ग्रीस र कोरिया पठाइदिन्छु भन्दै ठूलो रकम असुली गरेको खुलासा भएको छ। साजनले एक जना पीडितबाट १२ लाख ८० हजार रुपैयाँ, दिपकले ३ जना पीडितबाट ६ लाख रुपैयाँ, टेक बहादुरले ६ जना पीडितबाट २१ लाख रुपैयाँ, भरतले ३ जना पीडितबाट २० लाख रुपैयाँ र प्रेमले ३ जना पीडितबाट ३३ लाख ५० हजार रुपैयाँ लिएको पाइएको छ। रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको पीडितहरूले उजुरी दिएका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बुधबार साजन र टेक बहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट, दिपकलाई काठमाडौं महानगरपालिका-३० बाट तथा बिहीबार भरत र प्रेमलाई ललितपुर महानगरपालिका-१५ बाट पक्राउ गरेको हो।
पक्राउ परेकालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।