कर्तव्य ज्यान सम्बन्धी मुद्दामा २२ वर्षदेखि फरार रहेका प्रतिवादी के बहादुर गर्बुजा पक्राउ परेका छन्। जिल्ला म्याग्दी रघुगंगा गाउँपालिका वडा नं. ४ दग्नामका गर्बुजालाई म्याग्दी प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको हो।
२०६० साल कार्तिक ६ गते राति करिब १२ बजे म्याग्दी जिल्लाको तत्कालीन दग्नाम गाविस वडा नं. २ मा घरमै सुतिरहेका धनराम तिलिजालाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो। यस घटनामा पीडित पक्षका तर्फबाट भूल बहादुर तिलिजाले जाहेरी दिएका थिए।
यो मुद्दामा २०६८ साल जेठ ११ गते म्याग्दी जिल्ला अदालतले गर्बुजालाई २० वर्ष कैद सजायको फैसला सुनाएको थियो। तर फैसला भएदेखि उनी फरार रहेका थिए।
लामो समयदेखि लुकीछिपी बसिरहेका गर्बुजालाई म्याग्दी जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले २०८२ साउन ८ गते रघुगंगा गाउँपालिका वडा नं. ४ दग्नाममै पक्राउ गरेको हो। उनलाई अदालतको आदेशअनुसार लगत कट्टा गरी कारागार कार्यालय म्याग्दीमा पठाइएको प्रहरीले जनाएको छ।