राजीनामा दिने मन्त्रीहरूमा नेपाली कांग्रेसको तर्फबाट सहभागी आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन रहेका छन्।
चारै मन्त्रीले छुट्टाछुट्टै राजीनामा पत्र मुख्यमन्त्री बहादुर सिंह लामा तामाङसमक्ष बुझाएका हुन्। मन्त्री लामिछाने रामेछापको कार्यक्रममा सहभागी भएर फर्किएलगत्तै काठमाडौँमा मुख्यमन्त्रीसँग भेट गरी प्रत्यक्ष रूपमा राजीनामा दिएका थिए। बाँकी मन्त्रीहरूले अनलाइनमार्फत राजीनामा पठाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
लामिछानेले सरकारमा काम गर्न नसक्ने अवस्था आएपछि राजीनामा दिएको बताएका छन्। उनले भने, “मुख्यमन्त्रीलाई पहिलो दिनदेखि नै सहयोग गर्दै आएको थिएँ, तर अब सरकारले हाम्रो सुझाव अनुसार अघि बढ्न सकेन, त्यसैले राजीनामा दिन बाध्य भएँ।”
चारै मन्त्रीले पेश गरेको राजीनामा पत्रमा विभिन्न कारणले निरन्तर जिम्मेवारी वहन गर्न नसक्ने हुँदा आजैदेखि लागू हुने गरी राजीनामा दिएको उल्लेख छ।
करीब एक वर्षअघि नेपाली कांग्रेसका बहादुर सिंह लामाको नेतृत्वमा नेकपा एमालेसहितको गठबन्धनबाट सरकार गठन भएको थियो। राजीनामापछि प्रदेश सरकारमा सत्ता समीकरण फेरबदलको संकेत देखिएको छ।