Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पर्वतमा पहिरोले घर पुरिँदा वृद्ध दम्पत्ति बेपत्ता, बुहारी भागेर ज्यान जोगाउन सफल

फाइल तस्विर 


पर्वत, साउन ४ – पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा घरमाथिबाट खसेको पहिरोले एकै परिवारका दुई सदस्य पुरिएर बेपत्ता भएका छन्।

आईतबार बिहान करिब ४ बजेको समयमा आएको पहिरोले ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया पत्नी विष्णुमती विकको ज्यान खतरामा परेको हो। उनीहरूकै एकतले कच्ची घर पुरिँदा दम्पत्ति घरमै थुनिएका छन् भने खोजी कार्य जारी छ।

घरमा पहिरो खस्ने बित्तिकै बुहारी पवित्रा विक (उमेर ३२) भने भागेर ज्यान जोगाउन सफल भएकी छन्।

स्थानीय वडाअध्यक्ष देवेन्द्र पौडेलका अनुसार पहिरोले घर पूर्ण रूपमा पुरेको छ। घटनास्थल पुग्ने बाटो अवरुद्ध हुँदा प्रहरी टोली अझै घटनास्थलमा पुग्न नसकेको जनाइएको छ।

स्थानीयवासीहरू आफैं उद्धार कार्यमा खटिरहेका छन्। अविरल वर्षाका कारण खोजी कार्यमा कठिनाइ भइरहेको स्थानीय चक्रबहादुर पुनले जानकारी दिनुभयो।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी टोली खटिएको र थप विवरण प्रहरी पुगिसकेपछि आउने जानकारी दिनुभयो।

Top Post Ad

post bottom ads

Ads Bottom