Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

परपुरुषसँग मिलेर श्रीमानको हत्या, तीन जना पक्राउ


कञ्चनपुर, साउन ६ — कञ्चनपुरको लालझाँडी गाउँपालिका–४ सिगलपट्टीका ४९ वर्षीय रामरेशर रानाको हत्या गरिएको खुलेको छ। विगत वैशाख १७ गते बिहान कञ्चनपुरस्थित मोटरघाट सडक छेउमा मृत अवस्थामा फेला परेका रानाको हत्या श्रीमती माया चौधरीले परपुरुषसँगको मिलेमतोमा गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार माया चौधरीले पुन्ना राना (बेलौरी नगरपालिका–४) र छिमेकी मानमती चौधरीसँग मिलेर वैशाख १६ गते राति करिब १२ बजे रामरेशर रानाको टाउकोमा बाँसको चिर्पट प्रहार गरी हत्या गरेकी थिइन्। मृतक राना भारतमा रोजगारी गर्दै आएका थिए र हत्या भएको समयमा उनी छुट्टीमा नेपाल आएका थिए।

हत्या पछि तीनै जनाले १७ गते बिहानै शवलाई घरदेखि टाढा मोटरघाट सडक छेउमा फालेका थिए, जसलाई सर्वसाधारणले देखेर प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार माया चौधरी र ट्याक्टर चालक पुन्ना रानाबीच २०८१ सालदेखि प्रेमसम्बन्ध सुरु भएको थियो। भारतबाट घर फर्किएपछि श्रीमानसँग विवाद बढेपछि मायाले पुन्ना र मानमतीको सहयोगमा हत्या गरेको बयानमा स्वीकार गरेकी छिन्।

हत्या भएपछि मृतकका आफन्तले तीनै जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। त्यसपछि प्रहरीले असार ५ गते उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालेको थियो। असार २० गते अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा मिसिल पठाइएको छ।

असार २६ गते कञ्चनपुर जिल्ला अदालतले अभियुक्त पुन्ना रानालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ भने माया चौधरी र मानमती चौधरीबाट जनही १ लाख रुपैयाँ धरौटी माग गरिएको थियो। धरौटी बुझाउन नसकेपछि तीनै जना हाल कारागारमा छन्।

मृतक रामरेशर रानाका एक छोरा र दुई छोरी रहेका छन्। परिवारमा भएको यो दर्दनाक घटनाले गाउँमा समेत स्तब्धता फैलिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom