शनिबार बिहान बैतडीको पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। धनगढीबाट गण्नातर्फ जाँदै गरेको सुप प्र०१–००१ ज १३७२ नम्बरको जीप बिहान करिब ५ः३० बजेको समयमा दशरथचन्द राजमार्गअन्तर्गत पाटन–६ को खिपाली मोडमा सडकबाट झण्डै ७० मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा परी डिलाशैनी गाउँपालिका–१ का २४ वर्षीय चालक सन्तोषबहादुर राना र सोही ठाउँकी ३२ वर्षीया किरण बोहराको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयो।
त्यस्तै, डिलाशैनी–१ कै ५१ वर्षीया कलमा धामी र २७ वर्षीय राजेन्द्रबहादुर खत्री गम्भीर घाइते भएका छन्। उनीहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका अन्य व्यक्तिहरुमा डिलाशैनी–१ का ४५ वर्षीय रामकुमार राना, २५ वर्षीय हेमन्तप्रसाद भट्ट, २१ वर्षीया भागरथी खत्री र उनकी २ वर्षीया छोरी एलीसा खत्री रहेका छन्। उनीहरूको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार भइरहेको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ। घटनास्थलमा प्रहरी टोली र स्थानीयवासीले तत्काल उद्धार कार्य गरेका थिए।