डिलराम अर्याल नामक घरधनीलाई असार २२ गते बिहान भान्सा कोठामा सर्पले टोकेपछि सर्पको गुँड पत्ता लागेको हो। खबर पाएपछि सर्प उद्धारकर्ता विशाल पाण्डेको टोली पाँच दिनसम्म उक्त घरमा खटिएर उद्धार कार्य सम्पन्न गरेको थियो।
उद्धारकर्ताका अनुसार, सुरुमा घरको ढोकामा एउटा कोब्रा देखिएपछि खोजी गर्दा भान्सा कोठाको र्याकमुनि माउ सर्पले बच्चा कोरलिएको अवस्थामा भेटिएको थियो। पछि माटो फोरेर थप खोजी गर्दा किचनको भुइँबाट २३ वटा सर्पको बच्चा सुरक्षित रूपमा उद्धार गरिएको पाण्डेले जानकारी दिनुभयो।
बच्चा सर्पहरू उद्धार भइरहँदा माउ सर्प भने उम्किएको पाण्डे बताउँछन्। “सर्पले किचनको भित्ताको भाँचिएको भागबाट भित्र पसि त्यहीँ गुँड बनाएको रहेछ,” उहाँले भन्नुभयो, “बच्चा बाहिर निस्कन थालेपछि बल्ल थाहा भयो।”
उक्त उद्धारमा विशाल पाण्डेका पिता खिमलाल पाण्डे, भाइ विश्वास पाण्डे, सदस्यहरू सागर पाण्डे, नवीन पौडेल र युवराज तिवारी संलग्न थिए। उनीहरूले लगातार पाँच दिनसम्म बिहानदेखि बेलुकासम्म खटिएर सर्पहरू सुरक्षित रूपमा निकाले।
सर्प उद्धारकर्ताहरूका अनुसार, किचन फोहोर रहनु, भुइँ फुटेको हुनु र झाडी जमेको अवस्थामा सर्पले त्यहाँ सुरक्षित स्थान ठानेर बस्ने सम्भावना बढ्दो छ। वन वाटिकाका अध्यक्षसमेत रहेका खिमलाल पाण्डेले १३ वर्षअघि पनि सोही घरबाट ११ वटा बेबी कोब्रा उद्धार गरिएको स्मरण गर्नुभयो।
विशेषज्ञहरूले सर्पबाट बच्न घर वरिपरि झाडी सफा राख्न, फोहोरमैला व्यवस्थापन गर्न, पराल वा दाउराको थुप्रो खुला रूपमा नराख्न सुझाव दिएका छन्। उद्धार गरिएका सबै बेबी कोब्रालाई नजिकैको जंगलमा सुरक्षित रूपमा छाडिएको छ।