Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

इम्बोस्ड नम्बर प्लेट तत्काल नलगाए पनि जरिवाना नहुने


पोखरा , भदौ ११ ।

सवारीसाधनमा असोज १ गतेदेखि अनिवार्य गर्ने भनिएको इम्बोस्ड नम्बर प्लेट तत्काल नजडान गरे पनि जरिवाना नहुने भएको छ। यातायात व्यवस्था विभागले सेवाग्राहीलाई आफू अनुकूल समयमा नजिकको यातायात कार्यालयमा गई स्वस्फूर्त रूपमा नम्बर प्लेट जडान गर्न अनुरोध गरेको छ।


मङ्गलबार विभागले प्रेस विज्ञप्ति जारी गर्दै असोज १ गतेपछि इम्बोस्ड नम्बर प्लेट नलगाए जरिवाना लाग्ने भन्ने भ्रम निराधार भएको प्रस्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, “इम्बोस्ड नम्बर प्लेट सम्पूर्ण सरकारी, निजी तथा सार्वजनिक सवारीसाधनमा क्रमशः जडान गर्ने निर्णय भए पनि तत्काल जरिवाना वा कारबाही नहुने छ।”


विभागका अनुसार नम्बर प्लेट जडानका लागि प्रदेश तथा विभागीय कार्यालयहरूमा आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनको तयारी भइरहेको छ। साथै, नम्बर प्लेटमा अङ्ग्रेजी लिपि प्रयोग भएकोबारे प्रस्ट पार्दै विभागले ठेक्का सम्झौताअनुसार सर्वोच्च अदालतको संवैधानिक इजलासबाट समेत त्रुटि नदेखिएको स्मरण गराएको छ। विभागले सवारी चालक अनुमतिपत्र, राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्रमा समेत अङ्ग्रेजी लिपि प्रयोग हुने भएकाले यसलाई उचित ठहर गरिएको जनाएको छ।


नागरिकस्तरमा देखिएको विरोधका बीच विभागले हाललाई अनिवार्य नगर्ने निर्णय स्पष्ट पारेको हो। तर, यसअघि साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिले २०८२ असोज १ गतेदेखि भने इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो।

Top Post Ad

post bottom ads

Ads Bottom