साउन २५, मुस्ताङ । मुस्ताङको कोभाङ फेदी जंगलमा च्याउ टिप्न जाने क्रममा खोलाले बगाएका एक युवा मृत फेला परेका छन्। घरपझोङ गाउँपालिका–५ फेन्ताङस्थित इको ब्रो कृषि फर्ममा कार्यरत बागलुङ जिल्ला निसीखोला गाउँपालिका–६ का २३ वर्षीय हिमाल विक शुक्रबार दिउँसो ४ बजे बेपत्ता भएका थिए।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकास खत्रीका अनुसार विकको शव बगेको स्थानबाट करिब पाँच किलोमिटर तल हिलो र बगरमा आधा शरीर गाडिएको अवस्थामा भेटिएको हो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको इन्द्र बक्स गण जोमसोमको संयुक्त टोलीले शनिबार दिउँसो शव फेला पारेको थियो। शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जोमसोममा राखिएको छ र आइतबार आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ।
विगत छ महिनादेखि उक्त कृषि फार्ममा कार्यरत विक पत्नी र अन्य चार जनासहित च्याउ टिप्न गएका थिए। खोलाले बगाउँदा विक बेपत्ता भए पनि अन्य चार जना भने सकुशल फर्किएका छन्।





