रौतहटको माधव नारायण नगरपालिका–६ की ३० वर्षीया रुबी कुमारी साहको हत्या प्रकरणमा संलग्न मुख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका पासवानको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो। तर, शुक्रबार उपचारकै क्रममा उनको मृत्यु भएको हो।
गत भदौ ७ गते रुबी साहको शव सुटकेसमा राखिएको अवस्थामा गौर–९, मुडबलवा जाने बाटोमा फेला परेको थियो। उक्त घटनापछि फरार रहेका पासवानले बुधबार आत्मदाहको प्रयास गर्दै गरेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार माधोपुर पश्चिमतर्फ मानपुर जाने बाटो नजिकैको आप बगैंचामा पेट्रोल खन्याई जलिरहेको अवस्थामा उनलाई उद्धार गरिएको थियो। आत्मदाह प्रयास गर्नु अघि पासवानले भिडियो सार्वजनिक गरेका थिए। भिडियोमा उनले आफूलाई कानुनी सजाय स्वीकार्य नभएको र रुबीकी आमा तथा राजु–राजनले पैसाको धाक देखाएर आफूलाई बाँच्न नदिएको दाबी गरेका थिए।
पासवानको दाहिने हातमा ‘माइ हार्ट रुबी कुमारी’ लेखिएको ट्याटु र छातीमा रुबीको तस्बिर अंकित रहेको प्रहरीले जनाएको छ। उनीहरू बाल्यकालदेखि नै गाउकै श्री माध्यमिक विद्यालय माधोपुरमा संगै अध्ययन गरेका थिए। ०६७ सालमा अन्तरजातीय विवाह गरेका उनीहरूलाई पछि माईती पक्षले छुट्याएको र प्रहरीमा अपहरणको मुद्दासमेत दर्ता गरेको खुलेको छ।


.png)

