श्रावण १६, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ वस्तीपुरमा शुक्रबार दिउँसो रुखले किच्दा दुई बालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
मृत्यु हुनेमा १५ वर्षीया सन्ता गोले र ९ वर्षीय सार्की थिङ रहेका छन्। घाइतेमा १५ वर्षीया सन्ध्या भोलन, १४ वर्षीया सिर्जना माया र ७ वर्षीया सुशीला थिङ छन्। घाइतेलाई उपचारका लागि हेटौंडा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।
उनीहरू जङ्गलमा गोठालो गएका बेला वर्षा सुरू भएपछि नजिकैको छाप्रोमा ओत लागिरहेका थिए। सोही समयमा पहिरो र पानीका कारण सालको रुख ढल्दा उनीहरू किचिएका हुन्।