साउन २४, खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३, छोरम्बु सापतेलका दुई बालबालिकाको मृत्यु भएको घटनामा प्रहरीलाई जानकारी नगराई अन्त्येष्टि गरिएको खुलेको छ। मृतक १० वर्षीया छोरी र ४ वर्षका छोरा नवराज बस्नेतका सन्तान हुन्।
साउन २२ गते बिहीबार घरबाट हराइरहेका दुवैजना बालबालिका साँझ जङ्गलमा मृत अवस्थामा भेटिएका थिए। सँगै हराएका अन्य चारजना बालबालिका भने सकुशल भेटिएका थिए। स्थानीय पूर्व वडाध्यक्ष इन्द्रबहादुर बस्नेतका अनुसार भीरबाट लडेर मृत्यु भएको देखिएपछि शुक्रबार बिहान गाउँले मिलेर अन्त्येष्टि गरिएको हो।
जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार प्रहरीलाई घटनाको कुनै जानकारी थिएन। पछि सूचना पाएर प्रहरी टोली खटिँदा घटनाको पुष्टि भएको र अहिले अनुसन्धान सुरु गरिएको बताइएको छ। कानुनी प्रक्रिया तथा पोस्टमार्टम नगरी अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ।
घटना दिनमा नवराज बस्नेतले विद्यालय जाने क्रममा आफ्ना तीन सन्तान र छिमेकीका तीन छोरीलाई बाटोमा छोडेका थिए। उनीहरू बाटो बिराएर वडा नं. २ को खमारे पुगेका र त्यहाँबाट फर्कँदै गर्दा बाटोमा दुर्घटनामा परेको अनुमान छ। जेठी छोरीको शव खरुवा खोलामा भेटिएको र केही माथि छोरा मृत अवस्थामा भेटिएको स्थानीयले जनाएका छन्। बाँकी चारजना बच्चा भने बाटो मुनिको ओढारमा सुरक्षित अवस्थामा फेला परेका थिए।
गाउँलेका अनुसार मृतक दुवै बालबालिका आफ्नै बुवाले राति करिब ८ बजे भेटेका थिए। रातभर गाउँमा राखी शुक्रबार छोरम्बु ल्याएर दाहसंस्कार गरिएको हो। गाउँलेले लडेर मृत्यु भएको स्पष्ट देखिएकाले प्रहरीलाई खबर नगरिएको बताएका छन्।