तेह्रथुम, साउन १७ – सङ्खुवासभाको धर्मदेवी नगरपालिका–९ बाट दमक जाँदै गरेको बस दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन्। दुर्घटना शनिबार बिहान लालीगुराँस नगरपालिका–१, देउराली घुम्तीमा भएको हो।
बा २ प ७२४४ नम्बरको बस सडकदेखि करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी लीलाराज लामिछानेले जानकारी दिए।
घाइतेमध्ये धर्मदेवी–९ का २३ वर्षीय सविन विष्टको अवस्था गम्भीर छ र उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। अन्य १३ जनाको वसन्तपुर अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि बस चालक खेम महत फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।