अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी विद्यार्थी र पत्रकारको अमेरिकास्थित बसाइमा कडा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ।
प्रस्तावित नियमअनुसार विद्यार्थी भिसामा अमेरिकामा चार वर्षभन्दा बढी बस्न नपाइनेछ। पत्रकारलाई अधिकतम २४० दिन बस्न दिने तर थप २४० दिनका लागि आवेदन दिन सक्ने व्यवस्था हुनेछ। तर, चिनियाँ पत्रकारलाई मात्र ९० दिनको भिसा उपलब्ध गराइने प्रस्ताव गरिएको छ।
अमेरिकी ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ले विदेशी विद्यार्थीले अनिश्चितकालसम्म अध्ययन लम्ब्याउँदै आएका कारण सुरक्षा जोखिम बढेको र करदाताको पैसा खर्च भएको दाबी गरेको छ।
तर, अमेरिकी विश्वविद्यालय तथा उच्च शिक्षा संस्थाहरूले यसलाई “अनावश्यक नोकरशाही अवरोध” भन्दै आपत्ति जनाएका छन्। उच्च शिक्षा संस्थाहरूको महासंघ ‘प्रेसिडेन्ट्स एलायन्स’का प्रमुख मिरियम फेल्डब्लमले यो कदमले अन्तर्राष्ट्रिय प्रतिभालाई अमेरिकामा अध्ययन गर्न निरुत्साहित गर्ने बताएका छन्।
सन् २०२३ मा मात्र अमेरिकामा ११ लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत रहेका थिए, जसले अमेरिकी अर्थतन्त्रमा ५० अर्ब डलरभन्दा बढी योगदान पु¥याएका थिए।
ट्रम्प प्रशासनको यस कदमले विश्वविद्यालय भर्ना, अनुसन्धान र अमेरिकी विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमतालाई नोक्सान पुर्याउने विशेषज्ञहरूको तर्क छ।