असोज २ । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ।
बाढीले बगाएको रसुवागढीस्थित मितेरी पुल पुनर्निर्माणमा चीन सरकारबाट भएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै अन्य नाकाबाट आवतजावत सहज बनाउन पनि सहकार्य हुने अपेक्षा व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले नेपाल–चीनबीचको सम्बन्धलाई ऐतिहासिक, घनिष्ठ र परस्पर सहयोगी रहेको उल्लेख गरिन् ।
प्रधानमन्त्री कार्कीले आगामी दिनमा व्यापार, लगानी, सम्पर्क सञ्जाल, कृषि, ऊर्जा, पर्यटन र प्रविधि हस्तान्तरण जस्ता क्षेत्रमा चीनको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरिन् ।
यस अवसरमा राजदूत चेन सङले चीन सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपाल–चीन सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे । उनले दुवै देशबीच भएका सम्झौता र सहकार्यलाई निरन्तरता दिँदै जनता र राष्ट्रको हितमा चीन सदैव साथमा रहने आश्वासन दिए।