असोज ६, काठमाडौं
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस भएका वैज्ञानिक महावीर पुनले आफूलाई बधाई नदिन र खादा–माला लिएर नआउन आग्रह गरेका छन्। साथै, उनले आफूलाई ‘मन्त्री’ नभन्न पनि अनुरोध गरेका छन्।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत पुनले “बधाई छ भनेर फोन नगर्नुहोस्, खादा–माला लिएर नआउनुहोस्” भन्दै सन्देश दिएका छन्। बरु शिक्षा क्षेत्रमा ठोस सुधारका सुझाव दिन उनले आग्रह गरेका छन्।
“मेरो पहिलो घोषणा– कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नुहोला र बधाई दिन खादा–माला लिएर नआउनुहोला। बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने र गर्नै पर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनुहोला। मलाई कसैले पनि मन्त्री नभन्नुहोला। कसैलाई मन्त्री नै भन्न रहर छ भने ‘कबाडी वैज्ञानिक मन्त्री’ भन्नुहोला,” पुनले सामाजिक सञ्जालमा लेखेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै पाँच नयाँ मन्त्रीको नाम राष्ट्रपतिको कार्यालयमा पठाएकी छन्।
-
उद्योग मन्त्रालयमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा
-
स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिव संगीता कौशल मिश्र
-
कृषि मन्त्रालयमा मदन परियार
-
सञ्चार मन्त्रालयमा पत्रकार जगदीश खरेल
-
शिक्षा मन्त्रालयमा वैज्ञानिक महावीर पुन
यी सबैले आजै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।




