असोज ६, पर्वत
गत शनिबार राति परेको भीषण वर्षाले पर्वतको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेमा ठूलो क्षति पुर्याएको छ। बस्तीभन्दा तल खसेको पहिरो गाउँमा पुग्दा छ घर पूर्ण रूपमा भत्किएका छन् भने १० घर उच्च जोखिममा परेका छन्।
भत्किएका घर स्थानीय मीनबहादुर नेपाली, नन्दकुमारी भण्डारी, डिलबहादुर गुरुङ, अस्मिता सार्की, लक्ष्मी परियार र एउटा रित्तो घरसँगै एउटा गोठ रहेको वडाध्यक्ष मनबहादुर कुँवरले जानकारी दिनुभयो।
मानविय तथा पशुचौपायाको क्षति भने नभएको प्रहरीले जनाएको छ। जमिन चिरा पर्न थालेपछि प्रभावित परिवारले पशुचौपायासहित पहिल्यै सुरक्षित स्थानमा सारेर क्षति कम गर्न सफल भएका हुन्।
विस्थापित परिवारलाई नजिकैको जनज्योति माध्यमिक विद्यालयको खेलमैदानमा टेन्ट टाँगेर राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका नायब उपरीक्षक रबिन विष्टले जानकारी दिनुभयो।
जिल्ला विपद् व्यवस्थापन समिति, नगरप्रमुख गङ्गाधार तिवारी, उपप्रमुख शोभा क्षेत्री र अन्य स्थानीय जनप्रतिनिधिहरूले स्थलगत निरीक्षण गरी अस्थायी बसोबासका लागि पाँच वटा टेन्ट उपलब्ध गराएका छन्। नगरप्रमुख तिवारीका अनुसार, विस्थापित परिवारलाई दीर्घकालीन पुनःस्थापना र सुरक्षित स्थानमा आवास निर्माणका लागि पहल थालिनेछ।




