असोज ६, खोटाङ
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मीका सिवा परियारलाई बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न भएको अभियोगमा प्रहरीले १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ।
भदौ ३० गते बेलुकी कामबाट घर फर्कँदै गर्दा उनलाई गाउँकै एक किशोरले पैसाको बहाना बनाई जंगलतर्फ धकेलेर बलात्कार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शुसान्त मिश्रले जानकारी दिनुभयो।
रेश्मीकाको श्रीमानलाई पैसाको कुरा गर्दै फोन गर्न लगाएर किशोरले योजना अनुसार जंगलमा पर्खेका थिए। करिब डेढ सय मिटर तल घिसार्दै लगेर अचेत अवस्थामा बलात्कार गरेपछि रेश्मीकाकै सल प्रयोग गरी घाँटीमा कस्दै हत्या गरिएको प्रहरीले जनाएको छ।
शव रुखमा बाँधिएको अवस्थामा भेटिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए। प्रारम्भिक अवस्थामा सामूहिक बलात्कार भएको आशंका गरिए पनि अनुसन्धानपछि किशोर एक्लैले योजनाबद्ध तरिकाले अपराध गरेको पुष्टि भएको निरीक्षक मिश्रको भनाइ छ।
किशोरको हातमा चोट लागेका कारण प्रहरीको शंका त्यतैतिर केन्द्रित भएको थियो। सोधपुछपछि उनले अपराध स्वीकार गरेको र हाल उनलाई पक्राउ गरी अदालत प्रक्रियामा अघि बढाइएको प्रहरीले जनाएको छ।
१८ वर्षभन्दा कम उमेरका भएकाले आरोपीको नाम सार्वजनिक गरिएको छैन। मृतक रेश्मीका दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारीमा कार्यरत थिइन्। एक छोरीकी आमा समेत रहेकी उनको बलात्कारपछि हत्या भएको घटनाले गाउँ त्रसित बनेको छ।
स्थानीयवासीले दोषीलाई कडा कानुनी सजायको माग गरेका छन्।


.png)

