भदौ २३ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी तीन दिनका लागि तोकिएका स्नातक तहका परीक्षा स्थगित गरेको छ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार भदौ २४, २५ र २६ गते बिहान ७ देखि १० बजेसम्म र दिउँसो १२ देखि ३ बजेसम्म सञ्चालन हुने भनिएको स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) को परीक्षा हालका लागि स्थगित गरिएको हो।
निमित्त परीक्षा नियन्त्रक डा. सूर्यकान्त कलौनीले आज सूचना जारी गर्दै त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले देशमा उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको जानकारी दिनुभयो।
स्थगित भएका परीक्षा क्रमशः असोज २, ४ र ५ गते सोही समयमा र तोकिएका परीक्षा केन्द्रमै हुने त्रिविले जनाएको छ।