भदौ २३ गते। काठमाडौँमा आज भएको ‘जेनजी’ प्रदर्शन ठूलो मानवीय क्षतिमा परिणत भएको छ। विभिन्न अस्पतालमा उपचाररत प्रदर्शनकारीमध्ये हालसम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ।
स्वास्थ्य संस्थाहरूका अनुसार १०० जनाभन्दा बढी घाइते विभिन्न अस्पतालमा उपचाररत छन्। त्रिवि शिक्षण अस्पतालको ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको छ भने २५ जना घाइते उपचाररत छन्। तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
त्यसैगरी, सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ। काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका २० मध्ये एकजनाले ज्यान गुमाएका छन्। एभरेष्ट हस्पिटलमा ३४ जना घाइते उपचाररत छन्, जसमा ३ जनाको मृत्यु भएको छ। महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत घाइतेमध्ये १ जनाको मृत्यु भएको छ भने अन्य १६ जना उपचाररत छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै घाइते प्रदर्शनकारीलाई निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले आन्दोलनमा भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको र थप जानकारी सार्वजनिक गर्ने तयारी भइरहेको जनाएका छन्।


.png)

