भदौ १८ गते । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा मंगलबार राति भएको आत्मघाती आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
स्थानीय प्रहरी प्रमुख मजीद कैसरानीका अनुसार राजधानी क्वेटाको बाहिरी क्षेत्रमा चिहान नजिकै आत्मघाती आक्रमणकारीले र्याली सकिएलगत्तै विस्फोट गराएको हो। आक्रमणकारीको शरीरका केही अङ्ग घटनास्थलमै बरामद गरिएको प्रहरीले जनाएको छ।
सरकारी अस्पतालका प्रवक्ता वसीम बेगका अनुसार १३ जनाको शव अस्पतालमा ल्याइएको छ भने दर्जनौँ घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।
यो र्याली राष्ट्रवादी नेता तथा पूर्व प्रान्तीय मुख्यमन्त्री सरदार अताउल्ला मेङ्गलको पुण्यतिथिको अवसरमा आयोजना गरिएको थियो। बलुचिस्तान नेसनल पार्टीका नेता अख्तर मेङ्गल आक्रमणबाट सुरक्षित रहनुभए पनि उहाँका समर्थकमध्ये केहीको मृत्यु वा घाइते भएको वरिष्ठ प्रहरी अधिकारी उसामा अमीनले जानकारी दिनुभयो।
आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले नलिएको बताइएको छ।
बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगतीले आक्रमणलाई ‘मानवताको शत्रुहरूको कायरतापूर्ण कार्य’ भन्दै कडा शब्दमा निन्दा गर्नुभयो। उहाँले घाइतेहरूको उपचारमा कुनै कमी नहोस् भनी निर्देशन दिँदै अपराधीलाई कारबाही गर्न उच्चस्तरीय अनुसन्धान सुरु गर्न आदेश दिनुभएको छ।
यस्तै, पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले पनि आक्रमणको निन्दा गर्दै ‘भारत समर्थित आतङ्कवादीहरूले देशलाई अस्थिर बनाउन खोजेको’ आरोप लगाउनुभयो। तर उहाँले आफ्ना दाबीलाई समर्थन गर्ने प्रमाण भने प्रस्तुत गर्नुभएन।
हालैका महिनामा पाकिस्तान सरकारले भारतले पाकिस्तानी तालिबान र बलुच पृथकतावादी समूहलाई समर्थन गर्दै आएको आरोप दोहोर्याउँदै आएको छ।