भदौ २३ गते । जाजरकोटको शिवालय गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
सोमबार बिहान करिब ९ः३० बजे शिवालय गाउँपालिकाबाट छेडातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३५० नम्बरको बोलेरो जिप थलह–छेडा सडक खण्डको सालतडामा दुर्घटनाग्रस्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक नन्दबहादुर बिष्टले जानकारी दिनुभयो ।
दुर्घटनामा परी चालक शिवालय–८ का २६ वर्षीय हस्त बुढा, भेरी नगरपालिका–१ की ४६ वर्षीया अबिकला राना र शिवालय–३ का ५० वर्षीय पशुपति शर्मा घाइते भएका छन् । चालकको निधार र टाउकोमा, रानाको दायाँ कम्मरमा तथा शर्माको बायाँ खुट्टा र पेटमा चोट लागेको प्रहरीले जनाएको छ ।
अन्य तीन घाइतेको भने पहिचान खुल्न बाँकी छ । जिपमा ९ जना सवारमध्ये तीन जना सकुशल रहेका छन् । अनियन्त्रित भएको जिप सडकबाट करिब २६ मिटर तल खोलामा खसेको थियो ।
घाइतेहरूलाई स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि सुर्खेतको सिम्ता गाउँपालिकास्थित जामुने बजार पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




