रुकुमपश्चिम, भदौ १८ । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–३ कोइलतरीस्थित भेरीनदीको बीच टापुमा एक पुरुषको शव फेला परेको छ।
बुधबार दिउँसो स्थानीयले काठको मुडामा मानिसको शव अड्किएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नं. ४७ गुल्मबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली घटनास्थल पुगेको थियो।
सशस्त्र प्रहरी नायब निरीक्षक मधु गौतमका अनुसार नायब उपरीक्षक जगदिशचन्द्र हमाल र प्रहरी निरीक्षक हरि प्रसाद पुनको नेतृत्वमा स्थानीयको सहयोगमा नदीको बगरमा अड्किएको शव निकालेको हो।
अन्दाजी ३० वर्षको देखिने पुरुषको शवको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पठाइएको छ।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार शवलाई नदीले बगाएर ल्याएको हुनसक्ने बताइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनले जानकारी दिनुभयो।