करिब ४५ वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका कर्तव्यज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ (साविक माङ्खा–८) का ७० वर्षीय जिवनाथ तिमल्सिनालाई विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले काठमाडौं महानगरपालिका–१३, ताहाचलबाट नियन्त्रणमा लिएको हो ।
तिमल्सिनाले २०३७ साल कात्तिक ७ गते सोही गाउँका जितबहादुर तामाङमाथि आँखामा खुर्सानीको धुलो छर्की कुटपिट गर्दै खुकुरी प्रहार गरी हत्या गरेका थिए । उक्त अपराधमा उनलाई २० वर्ष कैद सजाय तोकिएको थियो । तर फैसला कार्यान्वयन अघि नै उनी फरार भएका थिए ।
प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार पक्राउ परेका तिमल्सिनालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएपछि कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार चलान गरिएको छ ।
लामो समयदेखि फरार रहेका अपराधीलाई पक्राउ गर्ने अभियान अन्तर्गत प्रहरीले पछिल्ला वर्षमा सक्रियता बढाएको छ । प्रहरीका अनुसार यसलाई फरार अभियुक्तविरुद्धको महत्त्वपूर्ण उपलब्धी मानिएको छ ।




