भदौ १८, पोखरा । पोखराबाट भुटानको पारोसम्म चार्टर उडान सुरु हुने भएको छ। भुटान एयरले आगामी सेप्टेम्बर र अक्टोबर महिनामा चार वटा चार्टर उडान गर्ने तयारी गरेको हो।
पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा भुटान एयरले एयरबस ए–३१९ विमानमार्फत उडान सञ्चालन गर्ने जानकारी दिइयो। १२६ सिट क्षमताको विमानमार्फत पहिलो उडान २८ सेप्टेम्बरमा, दोस्रो २ अक्टोबरमा, तेस्रो ६ अक्टोबरमा र चौथो १० अक्टोबरमा हुने युनिभर्सल टुर्स एण्ड ट्राभल्सका कार्यवाहक अध्यक्ष परासर प्रसाईंले जानकारी दिनुभयो।
उहाँका अनुसार पारोबाट बिहान १०ः३० बजे उडान भरेर विमान पोखरामा ११ः४५ बजे अवतरण गर्नेछ। सबै उडानका लागि यात्रु बुकिङ खुला गरिएको पनि जानकारी दिइएको छ।
यसअघि सिचुवान एयरले पोखरादेखि चीनको छेन्दुसम्म उडान सञ्चालन गरेको थियो भने हाल हिमालयन एयरलाइन्सले पोखराबाट ल्हासासम्म उडान गरिरहेको छ।