पोखरा , भदौ १९ गते । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेकाले आज (बिहीबार) दिउँसो देशभर सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेश र लुम्बिनी प्रदेशका केही क्षेत्रमा हुरी–बतास समेत चल्ने सम्भावना रहेको छ।
आज राति कोशी र मधेश प्रदेशलगायत पहाडी भागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागका केही स्थानमा आंशिक बदली हुने महाशाखाले जनाएको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।
वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्ने, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने र यातायात अवरुद्ध हुन सक्ने चेतावनी महाशाखाले दिएको छ। यससँगै सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध गरिएको छ।