Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नवरात्रको अन्तिम दिन : सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै





काठमाडौँ, असोज १५ गते । आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन आज देशभर नौ दुर्गामध्येकी नवौँ देवी सिद्धिदात्री को विधिपूर्वक पूजा आराधना भइरहेको छ ।

वैदिक सनातन परम्परा अनुसार मोक्ष प्रदान गर्ने भएकाले यस देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूले समेत आराधना गर्ने भएकाले यिनीलाई सिद्धिदायिनी पनि भनिन्छ । धार्मिक विश्वास अनुसार सिद्धिदात्री देवीको पूजा आराधना गरे मनोकामना पूरा हुन्छ ।

यसअघि घटस्थापनासँगै सुरु भएको नवरात्रमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री र महागौरी देवीहरूको आराधना गरिएको थियो । आज नवौँ दिन सिद्धिदात्री देवीको विशेष पूजा गरी नवरात्र समापन हुँदैछ ।

नवरात्रभर घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत स्तोत्रको पाठ गरिन्छ । यसैगरी भक्तजनले शक्ति, ऐश्वर्य र विद्या प्राप्त गर्ने विश्वाससहित उपवास, पूजा र आराधना गर्ने गर्छन् ।

बिहीबार असोज १६ गते विजयादशमी अर्थात् टीकाको मुख्य दिन पर्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार साइत खोज्नेका लागि बिहान ११ः५३ बजे उत्तम रहेको छ । दुर्गा प्रसाद भने कोजाग्रत पूर्णिमासम्म प्रयोग गर्न सकिने धार्मिक परम्परा छ ।

महानवमीको दिन देशभरका शक्तिपीठ र देवी मन्दिरहरूमा विशेष पूजा, बलि र दर्शनका लागि भक्तजनको भीड लाग्ने परम्परा रहेको छ । घरघरमा पनि बलि, पूजाआराधनासहित आजको दिनलाई विशेष रूपमा मनाइँदैछ ।



Top Post Ad

post bottom ads

Ads Bottom