डोटी, असोज १८। डोटी जिल्लाको शिखर नगरपालिका–८ तिलतालिमा प्रहरी जवान शंकर बलायर मृत अवस्थामा फेला परेका छन्। उनको उमेर करिब २८–३० वर्षको रहेको बताइएको छ।
गोपघाटस्थित डा. केआईसिंह राजमार्ग अन्तर्गत सडकमा घोप्टो परेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलले जानकारी दिनुभयो। उनका अनुसार मृतकको टाउकोमा गम्भीर चोट देखिएको छ।
शुक्रबार मध्यराति १२ः१५ बजे सडकमा मानिस लडेको खबर पाएपछि प्रहरी चौकी तिलतालीबाट प्र.ना.नि. भुवन सिंह बोहराको कमाण्डमा पाँच जनाको टोली खटिएको थियो। पछि घटनाको थप अनुसन्धानका लागि निरीक्षक रावलको नेतृत्वमा नौ जनाको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
मृतक बलायर नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए। उनी असोज ७ गते दशैँ मनाउन १८ दिनको घर बिदा लिएर घर आएका थिए।
घटनालाई आफन्तहरूले संकास्पद भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन्।




