स्याङ्जा — स्याङ्जामा ३८ वर्षदेखि फरार रहेका डाँका चोरी मुद्दाका एक अभियुक्त अखेर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेसन टोलीले पुतलीबजार नगरपालिका–८, अरभ्याङ निवासी ६४ वर्षीय बुद्धि बहादुर शाही (कान्छो) लाई मिति २०८२ मंसिर १० गते आफ्नै वतनबाट पक्राउ गरेको हो।
साबिक बाहाकोट गाविस–०७ (हाल पुतलीबजार–८, गेउडाँडा) मा २०४३ साल माघ ७ गते भएको डाँका चोरी घटनामा संलग्न भएको कसुरमा उनीमाथि मुद्दा चलाइएको थियो। सोहि मुद्दामा सम्मानित स्याङ्जा जिल्ला अदालतले कैद तथा जरिवानासहितको फैसला गरेपछि शाही त्यसबेलादेखि फरार थिए।
प्रहरीद्वारा पक्राउ परेका शाहीलाई मंसिर ११ गते कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत स्याङ्जामा उपस्थित गराएर जिल्ला कारागार स्याङ्जा चलान गरिएको प्रहरीले जनाएको छ।
कसूरदारको विवरण
- नाम: बुद्धि बहादुर शाही (कान्छो)
- ठेगाना: साबिक कोल्मा बराहचौर–८, हाल पुतलीबजार–८, अरभ्याङ
- मुद्दा: डाँका चोरी
- कैद सजाय: ८ महिना ४ दिन
- जरिवाना: जिल्ला अदालतको फैसालाअनुसार भुक्तानी बाँकी
प्रहरीका अनुसार दशकमै फरार रहने कसूरदारलाई पक्रने प्रहरीले निरन्तर निगरानी, सूचनाको प्रयोग र अपरेसन मार्फत सम्भव भएको बताएको छ।





