कात्तिक २१ गते — स्याङ्जा प्रहरीले ४७ वर्षदेखि फरार रहेका चोरी मुद्दाका प्रतिवादी गिरीप्रसाद गुरुङलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार वालिङ नगरपालिका–१२, घुरुङ्खाका ६८ वर्षीय गुरुङलाई बिहीबार पक्राउ गरी जिल्ला अदालत स्याङ्जामा पेश गरिएको हो।
२०३५ साल बैशाख १५ गते, साबिक पेलाकोट गाउँपञ्चायत–२ कल्लेरीका दिलबहादुर राना मगरको घरबाट सुनका गहना र रेडियो चोरी गरेको अभियोगमा गुरुङमाथि मुद्दा चलेको थियो। सो घटनामा जिल्ला अदालत स्याङ्जाले २०४५ साल मंसिर १६ गते उनलाई दोषी ठहर गर्दै ४ हजार ५ सय रूपैयाँ जरिवाना र १ महिना १५ दिन कैद सजाय तोकेको थियो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीका अनुसार गुरुङ अदालतको फैसला पछि फरार थिए। “४७ वर्षपछि उनलाई पक्राउ गरी बिहीबार अदालतमा बुझाइएको छ,” डीएसपी चौधरीले बताए।
यससँगै स्याङ्जा प्रहरीले पछिल्ला वर्षमा फरार अपराधी पक्राउमा उल्लेखनीय सफलता हात पारेको जनाएको छ। कार्तिक १३ देखि २० गतेसम्मको एक सातामा मात्रै प्रहरीले १६ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको हो।
त्यस क्रममा प्रहरीले विभिन्न अपराधमा संलग्न रहेका व्यक्तिहरूलाई पक्राउ गरेको जनाएको छ।
-
कार्तिक १३ गते, कर्तव्य ज्यान मुद्दामा फरार चापाकोट–५ का पर्वत खवास पक्राउ।
-
कार्तिक १७ गते, चोरीमा फरार गल्याङ–७ का लालबहादुर राना, सार्वजनिक अपराधमा बिरुवा–४ का हिमाल गुरुङ, र कर्तव्य ज्यानमा फरार हरिनाश–६ का ख्यामबहादुर राना पक्राउ।
-
कार्तिक १८ गते, चोरी मुद्दाका पुतलीबजार–५ का सेती क्षेत्रीनी र जितबहादुर कार्की, डाँकाका फेदीखोला–४ का हर्कबहादुर गुरुङ र वालिङ–१२ का डिलबहादुर गुरुङ, पशुपंक्षी सम्बन्धी कसुरमा पुतलीबजार–१२ का डम्बरबहादुर गुरुङ, र बैंकिङ कसुरमा गल्याङ–५ की शान्ति गुरुङ पक्राउ।
-
कार्तिक २० गते, थप ६ जना — कुटपिटमा दोषी बिरुवा–४ का थमप्रसाद पोख्रेल, चोरीमा दोषी भीरकोट–२ का इउबबहादुर राना, कर्तव्य ज्यानमा भीरकोट–७ का दलबहादुर गोदार, चापाकोट–८ का गणेशबहादुर कुमाल र डाँकामा संलग्न वालिङ–१२ का हरीबहादुर गुरुङलाई पक्राउ गरी अदालतमा बुझाइएको हो।
त्यसै अवधिमा प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न ६ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ — पुतलीबजार–३ बाट ४ वटा र भीरकोट–७ बलमाटाबाट २ वटा। साथै, कार्तिक १६ गते १३ कार्टुन अवैध खैनी पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले अदालतका सजाय तोकिएका फरार प्रतिवादीहरूलाई खोजी गरी पक्राउ गर्ने अभियानलाई अझ तीव्र बनाउने जनाएको छ।




