मंगलबार बिहान घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले खातुनको शव माटोमा पुरिएको अवस्थामा बरामद गरेको हो।
प्रारम्भिक अनुसन्धानअनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको र टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको आशंका छ। घटनास्थलबाट एक थान चक्कु पनि प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतकका श्रीमान् शेख आदिल वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा छन्। घटनापछि मृतकका ससुरा शेख अलि मोहम्मदसहित घरका अन्य सदस्य खातुनकी डेढ वर्षीय छोरा मोहम्मद आरिफलाई लिएर फरार भएको प्रहरीले जनाएको छ।
खातुनको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ। फरार परिवारजनको खोजी तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।






