Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

वीरगञ्ज भन्सारमा छ वर्षदेखि १८५ कन्टेनर अलपत्र


कात्तिक २८ गते ।

वीरगञ्ज भन्सार कार्यालयको मातहत रहेका १८५ भन्दा बढी मालवाहक कन्टेनर छ वर्षदेखि सुक्खा बन्दरगाहमा बेवारिसे रूपमा थन्किएका छन्। कोविड–१९ महामारीअघि तेस्रो मुलुकबाट आयात गरिएका ती कन्टेनर आयातकर्ताले भन्सार जाँचपास प्रक्रिया अघि नबढाएपछि वर्षौंदेखि अलपत्र अवस्थामा राखिएका हुन्।


भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार २०७६ सालमा २२० वटा कन्टेनर सुक्खा बन्दरगाहमा भित्रिएका थिए। तीमध्ये तीनवटाको कानुनी प्रक्रिया पूरा भई फिर्ता भइसकेको र १४ वटा खाली भई कानुनी प्रक्रिया पूरा हुने चरणमा पुगेको बताइयो। “बाँकी १८५ कन्टेनर कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अहिले पनि परामर्श गर्दैछौँ,” ज्ञवालीले भन्नुभयो।


आयातकर्ताको पहिचान स्पष्ट नहुँदा पनि यी कन्टेनर लामो समयदेखि बन्दरगाहमै थुनिएका छन्। भन्सार कार्यालयले सबै कन्टेनरलाई मुचुल्का बनाई सिलबन्दी अवस्थामा राखेको छ। कानुनी प्रक्रिया जटिल र लम्बिँदै गएपछि कन्टेनर व्यवस्थापनमा समय लागेको कार्यालयको भनाइ छ।


सिलबन्दी कन्टेनरमा रहेका सामग्रीमध्ये ९० मा केराउ, ६१ मा छोकडा, १० मा पोस्ता दाना, नौमा सुपारी, सातमा फुड सप्लिमेन्ट र दुई कन्टेनरमा मसुरो दाल रहेको भन्सार कार्यालयले जनाएको छ। त्यसबाहेक चना, ओखर, उडन टुथब्रस, बफेल्लो हर्न, मुंगदाल र डियो स्प्रे राखिएका कन्टेनर पनि छन्।


प्रमुख भन्सार प्रशासक ज्ञवालीका अनुसार कुन–कुन कन्टेनरमा रहेको मालवस्तु नष्ट गर्नुपर्ने हो भन्नेबारे अर्थ मन्त्रालय तथा भन्सार विभागसँग समन्वय भइरहेको छ। “विगतमा केही वस्तुको ल्याब टेष्ट गर्दा ठीक देखिएको थियो, तर छ वर्ष बितिसकेको हुँदा ती सामग्री बिग्रिएको सम्भावना पनि छ,” उहाँले भन्नुभयो।

यस विषयमा पुनः ल्याब परीक्षण आवश्यक छ कि छैन भन्नेबारेसमेत छलफल भइरहेको जानाइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom