गत असोजमा परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा भएको बाढी र पहिरोले ठूलो धनजन क्षति पुर्याएको छ। सो क्षतिको कारण बीमा कम्पनीहरूमा हालसम्म रु तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको बीमा दाबी परेको बीमा प्राधिकरणले जनाएको छ।
गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको लगातार वर्षाका कारण भएको क्षतिको बीमा दाबीसम्बन्धी ४३४ वटा आवेदन परेका छन्। प्राधिकरणका अनुसार, सम्पत्ति बीमा तर्फ ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा निजीतर्फ ३७, मोटर बीमा सार्वजनिक १०, अन्य बीमा १, र सामुद्रिक बीमा ३ वटा आवेदन दर्ता भएका छन्।
यी दाबीहरू देशभरका ३७ जिल्लाबाट परेका छन्। तीमध्ये सबैभन्दा बढी १९७ वटा दाबी सुनसरीमा परेका छन्। त्यसपछि मोरङमा ९०, काठमाडौँमा ८०, इलाममा ६०, पर्सामा ७१, रौतहटमा २८, र झापामा २० वटा दाबी दर्ता भएका छन्।
बीमा प्राधिकरणका अनुसार, यसअघि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको करिब रु २३ अर्ब २३ करोड बराबरको बीमा दाबी दर्ता भएको थियो। त्यस्तै, गत असार महिनामा आएको बाढी–पहिरोका कारण पनि रु ९८ करोड ५९ लाख बराबरको बीमा दाबी परेको थियो।
प्राकृतिक जोखिम र अस्थिर घटनामा वृद्धि भइरहेकाले पछिल्लो समय बीमा कम्पनीहरूमा दाबी आवेदनको संख्या तीव्र रूपमा बढेको प्राधिकरणले जनाएको छ। हाल देशभर १४ वटा निर्जीवन बीमा कम्पनी र चार वटा निर्जीवन लघुबीमा कम्पनीहरूमा ती दाबी दर्ता भएका छन्।




