Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

लमजुङमा पूर्वप्रहरी हवल्दार हत्या प्रकरणका मुख्य अभियुक्त ८ महिनापछि पक्राउ


पोखरा, मङ्सिर १९ ।

लमजुङमा आठ महिना अघिको चर्चित हत्या प्रकरणमा संलग्न मानिएका बुद्धिराम दराई अखेर पक्राउ परेका छन्। चितवन रत्ननगर–७ का ४७ वर्षीय दराईलाई रुपन्देहीको सिद्धार्थनगर–१, बेलहियाबाट पक्राउ गरी शुक्रवार लमजुङ प्रहरीले सार्वजनिक गरेको हो।

गत चैत ३१ गते बेसीशहर–२, भकुण्डेस्थित आफ्नै घरमा पूर्वप्रहरी हवल्दार सीता धिताल कंडेल मृत फेला परेकी थिइन्। प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा चैत २६ गते कंडेलको घर पुगेका दराईले २७ गते बिहान हत्या गरेको तथ्य प्रमाणसहित पुष्टि गरेको छ।

प्रहरीका अनुसार दराई र कंडेलबीच पहिलेदेखिकै चिनजान र नियमित भेटघाट थियो। दराई कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाई २०७६ असोजमा मुक्त भएका थिए। चितवन कारागारमै कंडेलसँग परिचय भएको र पछिल्ला वर्षमा उनीहरूबीच आर्थिक कारोबारसमेत चलिरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख, प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार घटनाको ठोस कारण भने अझै स्पष्ट भइसकेको छैन। प्रारम्भिक अनुसन्धानले आपसी मनमुटावकै क्रममा झगडा बढेर हत्या भएको अनुमान गरिएको छ।

अनुसन्धानमा दराई चितवनबाट लमजुङ आएर कंडेलको गतिविधि निगरानी गरेको, २६ गते सीताको घरमै बसेर अर्को दिन बिहान हत्या गरेको तथ्य खुलेको छ। कंडेलको अष्ट्रेलियामा रहेका छोरासँग बिहान ४ बजेतिर भिडियो कल भएको केही घण्टामै घटना भएको प्रहरीले बताएको छ।

हत्या भएपछि घरमा रहेका सुनका गरगहना, नगद र मोबाइल पनि चोरी भएको थियो। दराई हत्या भएको दिन बेसीशहर बजारमा हिँडडुल गरी चितवनतिर फर्किएको पत्ता लागेको छ। त्यसपछि भारत पुगेका उनी दिल्लीको एक होटलमा चौकीदारका रूपमा काम गरिरहेका बेला नेपाल फर्कँदै गर्दा पक्राउ परेका हुन्।

लमजुङ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहोराले जानकारी दिएका छन्।

Top Post Ad

post bottom ads

Ads Bottom