Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

आकर्षक वैदेशिक रोजगारीको प्रलोभनमा चार करोड ३९ लाख ठगी गर्ने दुई जना पक्राउ


काठमाडौँ, मङ्सिर २७ — विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर ४८ जना युवायुवतीबाट चार करोड ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२७ निवासी ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंह र दोलखाको मेलुङ गाउँपालिका–७ निवासी ५१ वर्षीय लड्डुबहादुर श्रेष्ठ रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले बेरोजगार युवायुवतीलाई बेलायतको म्यान्चेस्टर सहरमा रहेको एक होटलमा रोजगारी मिलाइदिने भन्दै ठगी गरेका हुन् । सिंहले आफू पूर्वराजाको भान्जा भएको भन्दै युवायुवतीलाई सहजै विश्वासमा पार्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

युवायुवतीलाई विश्वास दिलाउन उनीहरूले होटल र आफ्नो कम्पनीबीच भएको नक्कली रोजगार सम्झौता, काठमाडौँस्थित बेलायती दूतावासको नक्कली पत्र, नक्कली प्रवेशाज्ञा (भिसा) र हवाई टिकटलगायत कागजात देखाउने गरेका थिए । आकर्षक तलबको प्रलोभनमा पारेर रकम लिने तर लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ परेका सिंहविरुद्ध यसअघि पनि अमेरिका र बेलायत पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौँमा चार र ललितपुरमा दुई गरी छवटा ठगीसम्बन्धी मुद्दा दर्ता छन् । साथै, पूर्वराजपरिवारको सदस्य भन्दै धाकधम्की दिएको आरोपमा प्रहरी वृत्त दरबारमार्गमा समेत एउटा मुद्दा दर्ता रहेको छ ।

प्रहरीले सिंहको समूहबाट ठगिएका अन्य पीडितहरूलाई आवश्यक कागजातसहित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय वा जिल्ला प्रहरी परिसर भद्रकालीमा उजुरी दिन आग्रह गरेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom