स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकामा आयोजना गरिएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड तथा बृहत् शैक्षिक महोत्सवमा पञ्चकन्या माध्यमिक विद्यालयले लगातार तेस्रोपटक उपाधि जित्दै आफ्नो खेलकुद वर्चस्व कायम गरेको छ। लगातार तीन संस्करणको विजेता बन्दै पञ्चकन्याले रनिङ शिल्ड स्थायी रूपमा कब्जा गरेको हो।
पालिकास्तरीय प्रतियोगितामा ४५ स्वर्ण, ४५ रजत र ४५ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो। उत्कृष्ट प्रदर्शन गर्दै पञ्चकन्या माविले २५ स्वर्ण, १० रजत र सात कास्यसहित ४२ पदक हात पार्दै प्रथम स्थान हासिल गर्यो।
घण्टे माध्यमिक विद्यालयले १० स्वर्ण, १२ रजत र १० कास्यसहित ३२ पदक प्राप्त गरी दोस्रो स्थानमा रहँदा जन माध्यमिक विद्यालय तीन स्वर्ण, पाँच रजत र एक कास्य पदकसहित तेस्रो स्थानमा सीमित भयो।
रनिङ शिल्ड प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले जानकारी दिनुभयो।
शैक्षिक महोत्सवमा पनि उत्साहजनक सहभागिता
शैक्षिक महोत्सवतर्फ ३५ स्वर्ण, ३५ रजत र ३५ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो। यसतर्फ अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीले १० स्वर्ण, छ रजत र तीन कास्य पदकसहित प्रथम स्थान हासिल गर्यो।
पञ्चकन्या माध्यमिक विद्यालय चार स्वर्ण, चार रजत र दुई कास्यसहित दोस्रो तथा सितला देवी इङलिस बोर्डिङ स्कुल तीन स्वर्ण, पाँच रजत र एक कास्यसहित तेस्रो स्थानमा रहे।
खेलकुदसँगै नेतृत्व विकासमा जोड
महोत्सवमा एथलेटिक्स, भलिबल, कबड्डी, बिच भलिबल, शटपुट, ज्याभ्लिन थ्रो, हाइजम्प, लङजम्प, ट्रिपल जम्प लगायतका खेल समावेश थिए। शैक्षिक महोत्सवतर्फ स्मरण शक्ति परीक्षण, क्वीक रेस्पोन्स, सन्तुलन दौड, रिले दौड, बोरा दौड, म्युजिकल चियर, एकल नृत्यलगायत विविध प्रतियोगिता सञ्चालन गरिएका थिए।
विजयी खेलाडी तथा विद्यालयलाई पुरस्कार वितरण गर्दै अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले यस्ता प्रतियोगिताले विद्यार्थीमा अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्ने बताउनुभयो। उहाँले पालिकाले खेलकुद र शैक्षिक गतिविधिलाई प्राथमिकतामा राख्दै आगामी दिनमा अझ व्यवस्थित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।
विनीता र विनीशाको चमक
व्यक्तिगततर्फ घण्टे माविकी विनीता क्षेत्री र पञ्चकन्या माविकी विनीशा जिसीबीच उत्कृष्ठ खेलाडी बन्ने कडा प्रतिस्पर्धा देखिएको थियो। अघिल्लो संस्करणकी उत्कृष्ठ खेलाडी विनीता क्षेत्रीले यसपटक पनि नौ पदक जित्दै उपाधि जोगाइन्।
उता, १२ वर्षीया विनीशा जिसीले उत्कृष्ट प्रदर्शन गर्दै इमर्जिङ खेलाडीको उपाधि कायम राखिन्। दुवै खेलाडीले जिल्ला स्तरीय प्रतियोगितामा अझ राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका छन्।






